क्यान द्वारा भारतीय पूर्व महिला क्रिकेटर देविकालाई महिला टोलीको सल्लाहकार प्रशिक्षक नियुक्त


काठमाडौं, २१ साउन (Sports for Nepal) — नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकरलाई राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ।

क्यानले उनलाई आइतबार नियुक्त गरेको जानकारी दिएको छ । नेपाली महिला क्रिकेट टोली अहिले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा छ। सोही छनोटका लागि देविकालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो । 

देविकाले भारतबाट एक टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेकी छन । देविकाले वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्सको प्रशिक्षक गरेको पनि अनुभव छ । 

त्यस्तै उनी भारत र बंगालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरि सकेकी छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक स्यामसन जंग थापाले यसअघि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइ सकेका छन् ।

छनोट प्रतियोगिता मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा आयोजक मलेसियासँगै बहराइन, भुटान, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् ।

प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।