नेपाली राष्ट्रिय खेलाडीहरु एनआरएन अष्ट्रेलियाद्वारा सम्मानित


काठमाडौं, ९ भदौ (Sports for Nepal) — नेपाली राष्ट्रिय तेक्वान्दो तथा बडी बिल्डिङ्गका खेलाडीहरु एनआरएन अष्ट्रेलियाद्वारा अष्ट्रेलियामा सम्मानित भएका छन।

एनआरएनद्वारा अष्ट्रेलियामा सम्मानित हुने खेलाडीहरुमा तेक्वान्दोका सागर गुभाजु, सन्दिपा अमागाईं, शिशिर श्रेष्ठ र पारस भण्डारी तथा बडी बिल्डिङ्गका सुजन सिल्पकार रहेका छन्।

अध्ययनको सिलसिलामा देश बाहीर रहँदा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक समेत जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनको लागि पुर्याएको योगदानको कदर गर्दै एनआरएन अष्ट्रेलियाले उनीहरुलाई सम्मान गरेको हो।

राष्ट्रिय तेक्वान्दो खेलाडी सन्दीपा र शिशिरले केहि महिना अघि अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए।

३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य पदक जितेका थिए । उक्त च्याम्पियनसिपमा नेपालकै सागर गुभाजु र पारस भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए।

राष्ट्रिय टोलीका सदस्य रहिसकेका सागरले ग्योरोगीको ८० केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। यस्तै पारसले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। सन्दीपा अध्ययनको सिलसिलामा जापानमा बस्दै आएकी छन् भने अन्य खेलाडी अस्ट्रेलियामै अध्ययन गरिरहेका छन्।

खेलाडी सम्मान कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ्ग, एन्फा अष्ट्रेलियाका अध्यक्ष विजेन बटाजु र एनआरएनका सदस्यहरुको सहभागिता रहेको थियो ।