काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पुरुष राष्ट्रिय टिमका २२ अनुबन्धित खेलाडीलाई तलब प्रदान गरेको छ । अन्तर्राष्ट्रिय क्रिकट परिषद (आईसीसी) बाट प्राप्त एक वर्षको तलब रकम क्यानले प्रत्येक खेलाडीहरुको बैंक खातामा जम्मा गरेको हो ।
यो सन् २०१९ को वर्षभरिको तलब हो । अनुबन्धअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाएका छन् ।
यसअघि आईसीसीको मागअनुसार क्यानले २२ जना खेलाडीहरु र एक जना टेक्निकल एनालिस्ट सहित २३ जनाको विवरण आईसीसीमा पठाएको थियो । त्यसैअनुसार सेप्टेम्बर १ मा आईसीसीले उक्त रकम निकासा गरेको थियो।
कुन ग्रेडका कुन खेलाडीहरुले कति तलब पाए ?
मासिक ४५ हजार रुपैयाँको दरले तलब पाउनेहरु ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, शरद भेषावकर, करण केसी र सोमपाल कामी रहेका छन ।
यस्तै ३५ हजार रुपैयाँको दरले तलब पाउनेहरु ग्रेड ‘बी’ अभिनाष बोहरा, वसन्त रेग्मी, पवन सर्राफ, ललितनारायण राजवंशी, आरिफ सेख, सन्दीप झोरा, रोहित पौडेल र सुसन भारी छन । त्यसैगरी २५ हजार रुपैयाँको दरले पाउनेहरु ग्रेड ‘सी’ मा इशान पाण्डे, प्रदीप ऐरी, कुशल मल्ल, राजु रिजाल, कुलश भुर्तेल र रसिद खान रहेका छन ।

‘ए’ ग्रेडका खेलाडीहरुले एक वर्षको एकमुष्ट ५ लाख ४० हजार पाएका छन । यस्तै ‘बी’ ग्रेडका खेलाडीहरुले ४ लाख २० हजार र ‘सी’ ग्रेडका खेलाडीहरुले ३ लाख पाएका छन । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले ‘सी’ ग्रेडका खेलाडीको बराबर तलब पाएका छन।

