भदौ ३०, काठमाडौं – गएको आइतबार साँझ कञ्चनपुरमा मिनिट्रकको ठक्कर बाट घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीलाई सहयोग गर्न क्रिकेट प्लेयर्स एसोसिएसन, नेपाल (सिप्यान) ले अपील गरेको छ।
धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।
दुर्घटना पस्चात गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । थप उपचारका लागि धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।
सोमबार दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएका भण्डारी ग्राण्डी इन्टरनेसनल अस्पतालमा उपचार रत छन । अस्पताल श्रोतका अनुसार उनी खतरामुक्त छन।
उनलाई काठमाडौं ल्याउन तथा उपचारमा सहयोग गर्ने अस्पताल, शुभेच्छुक, क्रिकेटरलगायत सम्पूर्णमा सिप्यानले कृतज्ञता ज्ञापन गरेको छ।
भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध सिप्यानले सम्पूर्ण खेलकुद प्रेमिहरुमा सहयोग गर्न अनुरोध गरेको छ।
सहयोग गर्न इच्छुक हुने हरुलाई सिप्यानको सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, पुतलीसडक शाखा काठमाडौँमा रहेको खाता नम्बर ०० १००० २५२९ क मा रकम जम्मा गर्न आह्वान गरेको छ।

